सिलिगुडी — अजय एडवर्डस् मूलतः सामाजिक अभियन्ता हुन् । जब उनले २५ नोभेम्वर २०२१ दार्जिलिङमा ‘हाम्रो पार्टी’ नामक नयाँ दल जन्माए त्यसपछि उनले सामाजिक अभियन्ताबाट राजनीतिमा फड्को मारे ।
छोटो अवधिमै नयाँ पार्टीले दार्जिलिङका मतदाताको मन जित्यो । गोर्खाल्यान्ड टेरेटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) को ४५ मध्ये ६ र दार्जिलिङ नगरपालिकाको ३२ मध्ये ११ सिटमा उदाउँदो दलले पकड जमायो ।
हाम्रो पार्टीका संस्थापक एडवर्ड्सले आइतबार पुरानो दललाई विघटन गर्दै ‘इन्डियन गोर्खा जनशक्ति फ्रन्ट’ नामक अर्को नयाँ शक्ति जन्माएका छन् । नयाँ दलको संयोजक पनि उनी नै हुन् ।
एडवर्डस् गोर्खाल्यान्डपक्षधर नेता मानिन्छन् । यसअघिका सबै क्षेत्रीय दलहरूले लगभग छाडिसकेको अलग राज्य गोर्खाल्यान्ड गठनको मुद्दालाई उनले मुख्य अस्त्र बनाएका छन् । ‘गोर्खाल्यान्डलाई मैले सधैं प्राथमिक एजेन्डा बनाउँदै आएको छु,’ आइतबार दार्जिलिङमा नयाँ दलको झन्डा सार्वजनिकपछि सञ्चारकर्मीहरूसँग भने,‘दार्जिलिङ, कालिम्पोङ, सिलिगुडी तथा तराई र डुवर्स क्षेत्रलाई समेटेर अलग राज्य निर्माणको पक्षमा म दृढ रहने छु ।’ पार्टीको झण्डा हरियो नीलो रंगसहित खुकुरी र तारा अंकित छ । जसले गोर्खा समुदायको साहस र पहिचानलाई दर्साउने उनी बताउँछन् ।
नेपालीभाषी गोर्खा समुदायको ऐतिहासिक पृष्ठभूमि, पहिचान र राजनीतिक अधिकारको संरक्षणका लागि गोर्खाल्यान्ड गठन हुने पर्ने दाबी उनको छ । एडवर्ड्सलाई एनबी खवास, प्रकाश गुरुङ, प्रदीप प्रधान, योगेन्द्र राई, गौलन लेप्चा, महेन्द्र छेत्रीलगायतका पछिल्लो पुस्ताका युवा राजनीतिकर्मीहरूको साथ छ ।
सन् २०१७ को १०४ दिन लामो आन्दोलनपछि दार्जिलिङमा सत्ता फेरवदल शुरु भएको थियो । त्यो आन्दोलनको अगुवा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलगायतका धेरै नेता भूमिगत भएका थिए । गुरुङ भूमिगत जीवनपछि विनय तामाङ र अनित थापाहरू दार्जिलिङको राजनीतिमा उदाएका थिए । खासगरी पश्चिम बंगाल सरकारको चाहनाअनुसार दुवै नेताहरूले दार्जिलिङमा काम गरिरहेका छन् । थापा जीटीएका प्रमुख छन् । उनी ममता बनर्जीनिकट मानिन्छन् ।
दार्जिलिङमा आधा दर्जनभन्दा बढी क्षेत्रीय दलहरू छन् । ती कुनै राज्य सरकारनिकट त कुनै केन्द्र सरकारनिकट मानिन्छन् । एडवर्ड्सको नयाँ दल भने दुवै सरकारबाट अलग्गै रहेर गोर्खाल्यान्डको मुद्दामा मात्रै केन्द्रित बन्ने योजनामुताविक आएको बुझिएको छ ।